भदौ २३–२४ को जेनजी आन्दोलनपछि एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज चर्किंदै गए पनि अध्यक्ष केपी शर्मा ओली भने आत्मालोचना गर्न वा ती माग सम्बोधन गर्न तयार देखिएका छैनन् ।
आन्दोलनमा १९ युवाको मृत्यु र हिंसात्मक घटनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली निरन्तर ‘घुसपैठ’को कुरा दोहोर्याइरहे पनि ठोस प्रमाण वा आत्मालोचना गर्न चुकेका छन् । सत्ताच्युत भएको तीन सातापछि पनि उनले औपचारिक बैठक बोलाएका छैनन् ।
असन्तुष्ट नेताहरूका अनुसार बैठक बोलाउँदा बहुमत विपक्षमा जाने आशंकाले ओलीले बैठक टार्दै आएका छन् । यसबीच पार्टीभित्र उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताले आत्मालोचना गर्दै पार्टी पुनर्गठनको आग्रह गरिरहेका छन् ।
तर, ओली भने गुण्डुस्थित निवासमा सीमित कार्यकर्ता र पत्रकारसँग भेटघाट गर्दै आफूविरुद्ध षड्यन्त्र भएको दाबीरहे पनि कमजोरी स्वीकार गर्न तयार देखिँदैनन् । सचिव योगेश भट्टराईले माक्र्सको उदाहरण दिंदै संकटबाटै पुनर्गठनको सम्भावना निस्कने उल्लेख गरेका छन् ।
त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले विगतका गल्ती स्वीकार गर्दै क्षमा याचना गरेका छन् । नेताहरूको पुनर्गठन र आत्मालोचनाको आवाज बढ्दो छ, तर ओली अझै पनि प्रतिरक्षात्मक भूमिकामै छन् ।
सत्यपाटी