दशैं सुरु भएसँगै कामका लागि भारत गएका नेपाली यहाँस्थित जमुनाह नाका भएर स्वदेश फर्किने क्रम बढेको छ । इलाका प्रहरी कार्यालय जमुनाह नाकाका अनुसार केही दिनअघिसम्म दैनिक दुईदेखि पाँच हजारको सङ्ख्यामा नेपाली यो नाका भएर स्वदेश फर्किरहेका थिए भने अहिले दैनिक १५ हजारको हाराहारीमा स्वदेश फर्किरहेका छन् ।
घटस्थापनादेखि यता दशैं मनाउन नेपाल फर्किनेको सङ्ख्या अत्यधिक बढेको जनाउँदै सो कार्यालयले अहिले १५ हजार जति नेपाली दैनिक फर्किरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले रोजगारीका लागि भारत गएका नेपाली हुलका हुल फर्किन थालेपछि अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म नै आउनेको लर्को लाग्ने गरेको बताए ।
उनले दशैं आउन केही दिन मात्रै बाँकी रहेकाले हरेकले छिटोभन्दा छिटो घर पुग्न खोजेको देखिएको पनि बताए । इलाका प्रहरी कार्यालयको तथ्याङ्क अनुसार असोज १ गतेदेखि हालसम्म जमुनाह नाकाबाट २६ हजार ६२८ पुरुष, २४ हजार ३४ महिला र २० हजार १२५ जना बालबालिका गरेर ७० हजार ७८७ जना स्वदेश फर्किएका छन् ।
महिनाको सुरुमा दैनिक तीन–चार हजारको हाराहारीमा फर्किए पनि अहिले दैनिक १५ हजार जति फर्किरहेका छन् । यो क्रम अझै बढ्ने र दशैंको एक–दुई दिनअघि दैनिक २० हजारसम्म नेपाली स्वदेश फर्किने प्रहरीको अनुमान छ । दशैंतिहार मनाउन भारतबाट आउने नेपालीको सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवागमनलाई जमुनाह नाकामा सहज बनाएको छ ।
रिक्सा, ई रिक्सा, बस, हाइस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली ठगिएको गुनासो आएकोले निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको फर्किने क्रम दशैं र सो पछि पनि जारी रहने गर्दछ । दशैं र तिहार जति नजिक आउँछ त्यति नै भारतबाट फर्किनेको सङ्ख्या पनि बढ्दै जाने छ ।
सत्यपाटी