२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday
डुडुवामा तालाबन्दी

जेनजी आन्दोलनमा प्रदेश सांसदको घुसपैठ, डुडुवा गाउँपालिकामा तालाबन्दी, सेवा प्रभावित

पूर्वमन्त्रीसमेत रहेका सांसद अहिर र यादवले नै गाउँपालिकामा तालाबन्दी गरेकै कारण तलब खान नपाएपछि गाउँपालिकामा कार्यरत कर्मचारीहरु पनि आक्रोशित देखिएका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज ९ गते बिहीबार

जेनजी आन्दोलनमा लुम्बिनी प्रदेशका दुई सांसदको घुसपैठ देखिएको छ । राजनीतिक प्रतिशोध साँध्नकै लागि जेनजी आन्दोलनको फाइदा उठाउँदै लुम्बिनी प्रदेशका सांसद भण्डारीलाल अहिर र विजयबहादुर यादवले बाँकेको डुडुवा गाउँपालिकामा तालाबन्दी गरेपछि एक सातादेखि पालिकाको सबै सेवा ठप्प भएको छ ।

जेनजी आन्दोलन सकिएपछि गत भदौं २५ गते अन्दाजी साँझ साढे ८ बजेतिर एक अज्ञात समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । कर्मचारीका अनुसार लगत्तै अर्को समूह आएर एक घण्टाभन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवतजावत गरी नगर प्रहरीलाई धम्की दिएका थिए ।

त्यसको भोलिपल्ट भदौं २६ गते बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका अहिर र यादवको नेतृत्वमा ३०–३२ जनाको संख्यामा आएको समूहले गाउँपालिकाभित्र पसेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाको आरोप छ । तालाबन्दीका कारण दुई सातादेखि गाउँपालिकाको दैनिक कार्य सञ्चालन तथा सेवा प्रवाह पूर्णरुपमा ठप्प रहेको छ ।

पुर्वमन्त्रीद्धय अहिर र यादवको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी भएसँगै गाउँपालिकामा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको बताइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ताला खोलेर प्रहरीद्वारा मुचुल्का तयार गरी कामकाज गर्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गरिएको बताए ।

गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई कानूनी कारबाही र ताला खुलाएर कार्य सुचारु गराउन प्रशासनलाई अनुरोध गरे पनि पहल नभएको उनको गुनासो छ । जेनजीको नाममा सांसदहरु नै तालाबन्दीमा उत्रिएपछि सांसदको मर्याादाभन्दा बाहिर गएर गैरराजनीतिक कार्यमा संलग्न भएको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।

गाउँपालिका कार्यालयमा केही व्यक्तिहरु पसेर लेखा शाखा लगायतका अन्य शाखाबाट केही कागजात निकालेर जलाएको गाउँपालिकाले जनाएको छ । त्यसपछि निर्वाचनका समयदेखि नै विपक्षमा रहेकाहरुले घटनाको छानविनको माग गर्दै गाउँपालिका कार्यालयभित्रको अनुगमन र बिरोध कार्यक्रमले गाउँपालिकाको कामकाज प्रभावित बनाएको छ ।

यसैबीच, गाउँपालिकाले छानविन उक्त घटनाको छानविन गर्न समिति बनाएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले वडा नं.४ का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा वडा नं.१ का वडाध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र शिवकुमार मौर्य सदस्य रहेको छानविन समिति गठन गरेको छ ।

गाउँपालिका अध्यक्ष चौधरीले प्रशासनले आज बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि नेपालगन्ज केन्द्रीत आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् भने तलब रोकिँदा कर्मचारीहरु पनि आन्दोलनको तयारीमा रहेका छन् ।

कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता रोकियो

दुई सातादेखि सम्पूर्ण सेवाहरु ठप्प भएसँगै दशैंको मुखमा कर्मचारीले तलब नपाउने देखिएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण समेत प्रभावित भएको छ । तालाबन्दीका कारण कर्मचारीहरुले नै तलब पाउने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । उनले दशैको मुखमा सामाजिक सुरक्षा भत्ता समेत रोकिएको बताए ।

नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । गाउँपालिकाकै एक जना कर्मचारीले दशैं खर्च चलाउन रकम सापटी लिनुपरेको बताएका छन् । राजनीतिक द्वन्द्वका कारण कर्मचारीले दशैं तिहार जस्ता महत्वपूर्ण पर्वमा समेत तलब खान पाउने अवस्था नरहेको ती कर्मचारीले बताए ।

एक जना कर्मचारीले भने, ‘दशैं बिदाको अब दुई दिन बाँकी छ, तालाबन्दी खुल्ने सम्भावना छैन, कसरी तलब खानु ? तलब नपाउँदा खर्च व्यवस्थापनमा समस्या भएको छ ।’ पूर्वमन्त्रीसमेत रहेका सांसद अहिर र यादवले नै गाउँपालिकामा तालाबन्दी गरेकै कारण तलब खान नपाएपछि गाउँपालिकामा कार्यरत कर्मचारीहरु पनि आक्रोशित देखिएका छन् ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार