२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

दुई महिनामै तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

जडिबुटी निर्यातका लागि देशकै प्रमुख नाका मानिने नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएको पाइएको छ । आर्थिक वर्ष २०८२–०८३ को साउन र भदौ महिनामा मात्रै यो नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१–०८२ को सोही अवधीको तुलनामा यस वर्ष जडिबुटी निर्यातमा ५१ प्रतिशत वृद्धि भएको बताए । उनले चालु आवको दुई महिनामा करिब आठ करोड रुपैयाँको तीन लाख ३० हजार छ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा पाँच करोड रुपैयाँको दुई लाख ९६ हजार किलो जडिबुटी निर्यात भएको बताए ।

चालु आवको सुरुमै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएपछि व्यवसायीहरु उत्साहित बनेको पनि नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार चालु आवको सुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र सङ्कलन गर्ने तथा निर्यात गर्ने व्यवसायी दुबै उत्साहित भएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष टंकप्रसाद शर्माले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढी आएकाले निर्यात वृद्धि भएको र यस्तै रहेमा यस पटक निर्यात धेरै हुने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार