गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडका कारण बिमा कम्पनीहरूमा २२ अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ असोज ५ गतेसम्म १४ निर्जीवन र चार लघु निर्जीवन बिमा कम्पनीमा कुल दुई हजार ४७८ ओटा दाबी दर्ता भएका छन् । ती दाबीको मूल्य २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
सबैभन्दा धेरै क्षतिपूर्ति दाबी दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ । यस कम्पनीले ७३ ओटा दाबीका आधारमा पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । सोही क्रममा दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियरमा परेको छ जसमा २७९ ओटा दाबीका आधारमा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँ क्षतिपूर्ति दाबी दर्ता भएको छ । शिखर इन्स्योरेन्समा ३७४ ओटा दाबी परेका छन् ।
जसअनुसार दुई अर्ब ३९ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० ओटा दाबीका आधारमा दुई अर्ब ७३ करोड ८४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ ओटा दाबीका आधारमा एक अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ ओटा दाबीका आधारमा एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ रुपैयाँको दाबी दर्ता भएको छ ।
त्यस्तै नेको इन्स्योरेन्समा २११ ओटा दाबीका आधारमा एक अर्ब ११ करोड ८३ लाख रुपैयाँको दाबी दर्ता भएको छ भने सानिमा जीआईसी इन्स्योरेन्समा ८१ करोड सात लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४७ करोड नौं लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख रुपैयाँ क्षतिपूर्ति दाबी दर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा छ करोड ८४ लाख रुपैयाँ क्षतिपूर्ति दाबी दर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । लघु निर्जीवन बिमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ बराबरको बिमा दाबी दर्ता भएको छ ।
सत्यपाटी