२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

रातभर सेनापतिसँग कुरा गरें, राष्ट्रपति र संविधान जोगाएँ : प्रचण्ड

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ३ गते शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेनजी विद्रोहपछि भएको विषम राजनीतिक परिस्थितिमा आफूले प्रधानसेनापति अशोक सिग्देलसँग लगातार वार्ता र छलफल गरेर देश जोगाएको दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दाबी गर्दै भने, ‘नेपाल आर्मीको चिफसँग रातभर वार्ता र छलफल गरेर राष्ट्रपति र संविधान जोगाएको हुँ ।’

उनले भने, ‘संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिको पदबाटै हटाउने कसरतसम्म भए । तर अन्ततः संविधानलाई जोगाउन सफल भयौँ ।’ अध्यक्ष प्रचण्डले अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भए पनि संविधान बचाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको उल्लेख गरे ।

उनले प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको बताए । आगामी ६ महिनाभित्र निर्वाचन गर्न सरकारले घोषणा गरेको प्रसङ्गमा प्रचण्डले त्यसलाई संवैधानिक निकासको अवसरका रूपमा चित्रित गरे । उनले सबै राजनीतिक शक्ति र जनताले एकजुट भएर निर्वाचन सम्भव गराउनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संवैधानिक रूपमा खोलिनुपर्ने चाहना व्यक्त गरे । उनले भने, ‘तोकिएकै मितिमा निर्वाचन सजिलो छैन । तर सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता एकजुट हुने हो भने निर्वाचन सम्भव छ, र निर्वाचनलाई सम्भव गराउनैपर्छ ।’

‘मैले सहजीकरणका लागि रातभर जाग्राम बसें, राष्ट्रपतिज्यूसँग, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेँ । अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने,’ उनले भने ।

उनले यो प्रक्रियामा कहीँ न कहीँ संविधान बचाउने, संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा आफूले नजिकबाट देखेको बताए । ‘त्यसकारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ । त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस्,’ अध्यक्ष प्रचण्डले भने ।

उनले त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक रूपमा नै खुलोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए । ‘हामी अब कुनै द्विविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको टिप्पणी गरे । तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेको अहंकारले देश यो परिस्थतिमा आइपुगेको उनले दाबी गरे । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले त्यसको ऐतिहासिकता जेनजी विद्रोहले पुष्टि गरेको उल्लेख गरे । ‘१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको छ,’ उनले बताए । उनले भाद्र २४ गते जेन जीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार