२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट छापिँदै स्मार्ट लाइसेन्स

जेनजी आन्दोलन चर्किँदा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी भए पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरी सेवा पुनः सुरु गर्ने सम्भावना रहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हालसम्म २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । बाँकी लाइसेन्स छाप्न आवश्यक सामग्री खरिदका लागि विभागले चाँडै टेन्डर आह्वान गर्ने तयारी गरेको छ ।

२३ र २४ भदौमा आन्दोलन उग्रिँदा संसद् भवनको पूर्वतर्फ रहेको विभागको कार्यालयमा आगजनी हुँदा इम्बोस्ड नम्बर सम्बन्धी सम्पूर्ण डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएका १२ लाख स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख नष्ट भएका थिए ।

तर बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ । शुक्रबार बिहान विभाग परिसरमा भएको सरसफाइ कार्यक्रममा सहभागी भई निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्सको डेटा पुनःप्राप्ति सम्भव रहेको जानकारी दिएका थिए ।

मन्त्री घिसिङले अत्यावश्यक स्मार्ट लाइसेन्स छाप्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गर्ने बताउँदै भने, ‘राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न सकिन्छ । विदेश जानेहरूलाई अत्यावश्यक लाइसेन्स आवश्यक परेमा उक्त विभागको मेसिन प्रयोग गर्ने तयारी छ ।’

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार