२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

सर्वोच्च अदालतको इजलास त्रिपालमूनि, देशभर २३ वटा अदालतमा क्षति

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भए पनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।

सुनुवाईपछि सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरु र सवारी साधनहरुमा निकै क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य अझै भइरहेको बताए ।

यस्तै, सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार पाण्डेले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए ।

उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउनेपर्छ भन्ने छ । त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेका छौं ।’

साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् । उनले अहिले देशभर सर्वोच्च अदालत लगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि जानकारी दिए ।

सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार पाण्डेले भने, ‘क्षति भएको मध्य केही पूर्ण रुपमा क्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरुका केही फाइलहरु बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार