२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

माओवादी आक्रमणबाट बचेका देउवा जेनजीबाट कुटिए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको जेनजी आन्दोलन मंगलबार (भदौ २४) उपत्यकामा हिंसात्मक बन्यो । सोमबारै प्रहरीको गोलीमा १९ युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले मंगलबार सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतसहितका सरकारी कार्यालय जलाए । प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मका घर आक्रमणमा परे । लुटपाटसमेत भयो ।

सरकारी तथ्यांक अनुसार दुई दिनमै ७२ जनाको ज्यान गइसकेको छ । यसै घटनाक्रमले केपी शर्मा ओलीको सरकार ढल्यो । शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै संसद् विघटन र फागुन २१ मा चुनावको मिति तोके । प्रदर्शन रोक्न सेनाले सुरक्षाको जिम्मा लिए पनि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खना ललगायत शीर्ष नेताका घर जले ।

प्रचण्डलाई सेनाले ब्यारेक पुर्यायो भने खनालकी श्रीमती आगजनीमा घाइते भइ कीर्तिपुर बर्न अस्पतालमा भर्ना छिन् । शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरमा भने प्रदर्शनकारीले प्रत्यक्ष आक्रमण गरे । देउवा–आरजु दम्पतीलाई कुटपिट, लछारपछार गर्दै घरबाट निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरी उपचारमा राखेको छ ।

यस्तो पहिलोपटक भए पनि देउवा विगतमा पनि प्राणघातक आक्रमणबाट जोगिएका थिए । २०६० भदौ ८ गते धनगढी नजिक आमखैया जंगलमा तत्कालीन माओवादी लडाकुले उनीमाथि अन्धाधुन्ध गोली चलाएका थिए । गाडीमा तीन गोली लागे पनि अंगरक्षक प्रहरीले जवाफी कारबाही गर्दै देउवालाई जोगाएका थिए ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार