२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

अस्कर अवार्डमा नेपालबाट सिफारिस भयो ‘अञ्जिला’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

नेपालले ९८ औँ ‘अस्कर अवार्ड’मा प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘अञ्जिला’लाई चयन गरेको छ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’ चयन हुँदै नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ ।

नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८ औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट चलचित्र ‘अञ्जिला’लाई सिफारिस गरेको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।’

चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।

निर्माता श्रेष्ठले चलचित्रमार्फत नेपालमा खेलाडी सुब्बाको संघर्ष र सफलताको कथा प्रस्तुत गर्न पाएकोमा गौरव व्यक्त गरे । उनले भने, ‘नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, त्यसैले खेलाडी सुब्बाको जीवनी र संघर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा प्रस्तुत गर्छ ।’ उनका अनुसार चलचित्र ‘अञ्जिला’ अरूका लागि प्रेरणाको स्रोत बन्नेछ ।

चलचित्रमा अञ्जिला सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको ‘अञ्जिला’ले करिब नौं करोडको व्यापार गर्न सफल भएको थियो । नेपालको तर्फबाट ‘अञ्जिला’को चयनले देशको चलचित्र क्षेत्र र महिला खेलाडीको संघर्षपूर्ण यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर मिलेको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार