२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

कहिले लयमा फर्किएला नेपालको पर्यटन ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । बिस्तारै शान्तिपूर्ण अवस्था बन्दै गएपछि विषम परिस्थितिबाट गुज्रिएको यो क्षेत्र पुनः पुरानै लय फर्किने आशा पलाएको छ ।

यो क्षेत्र बिस्तारै पुनरुत्थानको दिशामा अघि बढ्ने यस क्षेत्रका व्यवसायी आशावादी देखिन थालेका छन् । धेरैजसोले मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण लगायत मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनलाई चुनौतीसँगै अवसरका रूपमा पनि लिनुपर्ने आशावादी सन्देश दिन थालका छन् । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन बिस्तारै पुरानै लयमा फर्किएजस्तो यो अवस्थाबाट पनि पार लाग्ने धेरैजसोको बुझाइ छ ।

‘पछिल्लो विकसित परिस्थितिले पर्यटनलाई पुनः कमजोर बनायो, तर पनि पर्यटन क्षेत्रमा असीमित अवसर छन् । तिनलाई पछ्याउन सके आशाका किरणहरू चाँडै देखिने छन् । पर्यटनमा जेनजी प्रदर्शन असंगठित युवापुस्ताको परिवर्तनको उत्कट चाहना भएकाले यसले निम्त्याएको संक्रमणलाई विगतका विपद्सँग तुलना गर्नुहुँदैन,’ सरोकार भएकाहरूले भन्ने गरेका छन् ।

अब पर्यटनलाई दिशाबोध गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयत्न गर्न जरुरी रहेको जानकारहरू बताउँछन् । यसका लागि सार्वजनिक निजी साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन पुनरुत्थानका लागि काम गर्न पर्यटक क्षेत्रका अगुवा संस्थाहरू सक्रिय भइसकेका छन् । नेपाल पर्यटन बोर्डको अगुवाइ र सक्रियतामा निजी क्षेत्रका पर्यटन व्यवसायीको छाता संगठन, पर्यटनविद् एवं सरोकार भएकाहरूबीच पुनरुत्थानका विभिन्न उपायको खोजी शुरू भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, होटल संघ नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्न (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), प्यासिफिक एसिया ट्रभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस् (नारा) लगायत संस्थाले पर्यटन पुनरुत्थानका लागि पहल कदमी लिएकाले चाँडै यो क्षेत्रले लय समात्ने धेरैको बुझाइ छ ।

यी संस्थाको पहलमा चरणबद्ध छलफल गरी पर्यटनलाई पुरानै लयमा फर्काउने प्रयत्न भइरहेको पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली बताउँछन् । ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश देश विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काममा जुटिसकेका छौँ,’ सचिव मैनालीले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय हुनुपर्ने बताए । ‘विगतको अनुभवका आधारमा पर्यटन क्षेत्र चाँडै पुनरुत्थान हुनेछ । पर्यटनसँग आबद्ध अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुरानै लयमा फर्किनेछ,’ उनले भने ।

सीईओ जोशीले विश्वका अन्य देश र विशेषगरी दक्षिण एशियाली मुलुक श्रीलंकाले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने बताए । श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कारोना महामारी र दक्षिण एसियाली मुलुकको आर्थिक तथा राजनीतिक संकटका कारण कमजोर बनेको थियो, तर विपद्पछिको रणनीतिले श्रीलंकाको पर्यटनसहित समग्र आर्थिक क्षेत्र चाँडै पुनरुत्थान भयो ।

श्रीलंका पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०२२ को मे महिनामा पर्यटनबाट रु चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको थियो । सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी थियो ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले विगतमा विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनरुत्थान भएको स्मरण गर्दै यसपटक पनि सबै मिलेर काम गरे चाँडै पुनरुत्थानको दिशामा अगाडि बढ्ने आशा व्यक्त गरे । उनले पर्यटनबाटै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रशस्त सम्भावना रहेको भन्दै अब नेपाल पर्यटकका लागि पूर्ण सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन जरुरी रहेको बताए ।

‘पर्यटकीय सिजन शुरू भएकाले नेपालबाट सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ । युवा पुस्ताले गरेको परिवर्तनलाई समृद्धिसँग जोड्न सक्नुपर्छ । प्रविधिमैत्री सेवा, दिगो पर्यटन विकासका लागि अगाडि बढ्नुपर्छ । सरकार र निजी क्षेत्रको साझेदारितालाई बढाएर एकताबद्ध भएर पर्यटन विकासमा केन्द्रित हुनुपर्छ,’ उनले भने । बोर्डको तथ्यांक अनुसार सन् २०२५ को सेप्टेम्बर १५ सम्म ३३ हजार ६३८ पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए भने सन् २०२३ मा १० लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । बोर्डले हालै गरेको एक अध्ययन अनुसार जेनजी प्रदर्शनका क्रममा देशभर २५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको छ । देशभर ३० भन्दा बढी होटल, रेस्टुरेन्ट, केबुलकार र एभिएसनमा आंशिक क्षति पुगेको छ ।

प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङको विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायत क्षेत्रमा रहेका छन् । स्वदेशी तथा विदेशी ‘ब्रान्ड’ का चर्चित होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाटबाट भएको छ । काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । यसले पर्यटन क्षेत्रमा करिब दुई हजार ५०० जना बेरोजगार बन्ने अवस्था आएको बोर्डको अनुमान छ ।

काठमाडौँमा मात्रै हिल्टन होटल, होटल हायत रेजेन्सी, वनवासा म्युजियम, होटल अलफ्ठ र चन्द्रागिरिमा क्षति पुगेको छ । पोखराका १२ होटलमा आंशिक क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो कार्यालय क्षतिग्रस्त भएको छ । मौलाकाली केबलकार र सिम्रिक एयरको भौतिक संरचनामाथि आगजनी भएको छ । नेपाल गन्तव्य सुरक्षित रहेको र पर्यटनका लागि विश्व समुदायलाई आग्रह गर्न बोर्डले ट्राभल एडभाइजरी जारी गर्ने मुलुकका दूतावासलाई बोर्डले विशेष आग्रह गर्ने तयारी गरेको छ ।

पर्यटन पुनरुत्थानका लागि पर्यटनका अगुवा संस्थाका प्रमुख एवं विज्ञसँग निरन्तर छलफल गरी पर्यटन पाहुनाका लागि पूर्ण तयार छ भन्ने सन्देश फैलाउन पहल भइरहेको बोर्डका सीईओ जोशीले बताए । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्ट नेपालको पर्यटन छिट्टै पुनरुत्थान हुने विश्वास व्यक्त गर्छन् । नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा उनले जोड दिए ।

महासचिव भट्टले भने, ‘विपद्पछि नेपालको पर्यटन लयमा फर्किँदै छ । अब नेपाल सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर पु¥याउन सामूहिक प्रयत्न आवश्यक छ । त्यसका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । आशा गरौँ अब पर्यटन क्षेत्र चलायमान बन्नेछ ।’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाटा)का अध्यक्ष कुमारमणि थपलिया पनि अब नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउन लाग्नुपर्ने बताउँछन् । प्राकृतिक विपद् र हालको संकट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार