२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सप्तकोसीमा रातो बत्ती बल्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको भइरहेको छ ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यस्तै, दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । यता सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको हो ।

गएराति १० बजे गरिएको मापन अनुसार ब्यारेज भएर दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको छ । त्यसैगरि खतरा स्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार