२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा (तस्वीर कथासहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १ गते बुधबार

आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो ।

प्रत्येक वर्षझै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक गरिँन्छ । हरेक वर्ष असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँको भद्रकाली, दक्षिणकाली लगायत देशभरका मन्दिरमा सवारीसाधानको पूजा गर्नका लागि दर्शनार्थीहरु पुगेका छन् ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् ।

यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार