२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

यस वर्ष दसैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

यस वर्षको दसैँ, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्वद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम सुरु भइसकेकाले दसैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरूको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दसैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दसैँका लागि घर जानेहरूले तीन–चार दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

अध्यक्ष स्वाँरले भने, ‘अब यो दसैँका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौं । किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै विदा भइसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरू लगायतका पब्लिक करिब ५० हजार मानिसहरू गोंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ । त्यो हुनाले अब अग्रिम बुकिङ आवश्यक छैन । दसैँका लागि विशेष बुकिङ हुँदैन ।’

तीन–चार दिनअघि नै टिकट दिने निर्णय गरेको अध्यक्ष स्वाँरले बताए । उनले भने, ‘अब टिकट पाइँदैन भनेर भिड गरेर जानुपर्ने अवस्था छैन ।’ यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए । उनले यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने पनि बताए ।

महानिर्देशक पोखरेलले भने, ‘हामीले चाडबाड केन्द्रीय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरू सबै बसेर अब हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरूलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने ? भन्ने विषयमा छलफल गरेका हौँ । त्यसको निर्णय गर्छौ । र तुरुन्तै कार्यान्वयनमा लैजान्छौं । यसलाई सहजीकरण गर्छौँ ।’

बैठकमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दसैँमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाई सकेको बताए । उनले दसैँमा बस यात्रुहरूलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । एसएसपी रजौरेले भने, ‘यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनुपर्यो ।’

एसएसपी रजौरेले यही बेला कमाउने मौका हो भन्ने सोच राख्न नहुने बताए । उनले भने, ‘यहिबेला हो ठग्ने भन्ने हो भने हामीले त्यस्तालाई सर्पोट गर्न सक्दैनौं । हामी नागरिक सहायता कक्षमा सँगै हुन्छौँ । यातायातको सुरक्षित ढंगले सञ्चालन गराउनैछौं । यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्याउने कुरामा हामी कटिबद्ध छौँ ।’ प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरूको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताए ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार