२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

रास्वपामा नीलो खुत्रुके अभियानको बहानामा असुली धन्दा

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यूआर कोडमार्फत आर्थिक सहयोग संकलन गरिरहेका छन् । संघीय सांसद डा.तोसिमा कार्कीले अमेरिकाबाट ‘नीलो खुत्रुके’ अभियान घोषणा गरिन् ।

अभियानको उद्देश्य नागरिकले २०८४ को निर्वाचनका लागि आफूलाई मनपर्ने उम्मेदवारलाई सहयोग गर्न अहिलेबाटै बचत गर्नुपर्छ भन्ने रहेको छ । तर, रास्वपाभित्र अर्बपति नेता धेरै छन्, जसमा सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल, उपसभापति डोलप्रसाद अर्याल, सांसद सुमना श्रेष्ठ, डा.स्वर्णिम वाग्ले, मनिष झा लगायतको नाम अगाडि आउँछ ।

पार्टी केन्द्रीय कार्यालय समेत करोडपति नेता भरतमणि देवकोटाको हो, जसलाई मासिक साढे तीन लाख भाडा दिइन्छ । यसैबीच पार्टीले विगतमा हजार रुपैयाँ सदस्यता शुल्कबाट सात करोड रुपैयाँ संकलन गरिसकेको छ । हाल हस्ताक्षर अभियानका नाममा क्यूआरमार्फत ४७ लाखभन्दा बढी चन्दा उठाइसकेको छ ।

अमेरिकास्थित अभियानले पनि प्रवासी नेपालीलाई लक्षित गर्दै बचतको नाममा सहयोगको वातावरण बनाइरहेको छ । राजनीतिक विश्लेषक डम्बर खतिवडाले यस्तो अभियानलाई जनताप्रतिको बेइमानी भनेका छन् ।

पार्टीले आफ्ना सम्पन्न नेताहरूको स्रोत प्रयोग गर्न सक्ने भए पनि गरिब श्रमिकसँग सहयोग माग्नु नैतिक दृष्टिले गलत रहेको तर्क उनले गरेका छन् । रास्वपा भने यसलाई नागरिकको स्वतःस्फूर्त सहयोग र विश्वासको रुपमा व्याख्या गर्दै आएको छ । तर, आलोचकहरूका अनुसार यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यमा आघात पुर्याउँछन् ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार