२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

जेनजी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ भदौ ३१ गते मंगलबार

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ । प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए ।

इन्सेकको तथ्याङ्क अनुसार सुर्खेतमा मात्रै २८ ओटा सरकारी संरचना र आठ ओटा निजी घरहरुमा क्षति पुर्याइएको छ । सुर्खेतमा विभिन्न पाँच राजनितक दलका कार्यालय र तीन विभिन्न संघसंस्थाका कार्यालय गरी ४४ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।

आन्दोलनका क्रममा वीरेन्द्रनगर सुर्खेतको कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यान्याधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का वडा कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

त्यस्तै उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यामिक विद्यालय, मुख्यमन्त्री, कृषिमन्त्री, भौत्तिक मन्त्री निवास, हिमाली पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरेका थिए ।

आन्दोलनकारीले सुर्खेतमा मात्र ११ सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पु¥याएका छन् । दुई वटा निजी गाडी र पाँच मोटर साइकलमा आन्दोलनकारीले आगो लगाएका छन् । जेन–जी समूहको आन्दोलनका कारण जुम्लामा एक सरकारी कार्यालय, पाँच राजनितिक दलका कार्यालय गरी ६ ओटा कार्यालयमा आगजनीसँगै तोडफोड गरेका छन् ।

आठ ओटा सरकारी गाडी र ११ ओटा मोटर साइकल तोडफोडसँगै आगजनी गरेका छन् । आन्दोलनकारीहरुले एम्बुलेन्स, शववहान र दमकलमा समेत तोडफोड गरेका छन् । आन्दोलनको क्रममा जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना नभएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अनुगमनका क्रममा पाइएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार