२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

जेनजी आन्दोलनमा देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

जेनजी आन्दोलनबाट देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका छ । उपत्यकाका तीन जिल्लाको कमान्ड हेर्ने रानीपोखरीको उपत्यका प्रहरी कार्यालय ध्वस्त भएको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते आगो लगाइएको थियो । उक्त कार्यालय जलेर नष्ट भएको थियो ।

कतिपय अत्याधुनिक भवनहरु जलेर नष्ट भए भने ब्यारेक समेत जल्दा प्रहरी कर्मचारीहरुको सबै लत्ता कपडा र अत्यावश्यक सामाग्री समेत जलेर नष्ट भए । प्रहरी प्रधान कार्यालयले दिएको जनाकारी अनुसार उपत्यका साना–ठूला कार्यालय गरी कम्तीमा पनि २०० वटामा क्षति पुगेको छ । त्यसमध्ये केही पूर्णरुपमा क्षति भएको छ ।

प्रदर्शनकारीले प्रहरी कार्यालयभित्र रहेका हतियार गोली तथा प्रहरीको युनिफर्मसमेत लुटेका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको कमान्ड हेर्ने र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजीपी) प्रमुख रहने कार्यालय जलाएर नष्ट गरेका थिए । यसरी नै तीन वटै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने मुख्य कार्यालय उपत्यका ट्राफिक कार्यालय समेत जलाएका थिए ।

उपत्यका ट्राफिक कार्यालय प्रमुखमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बस्छन् । यी दुई ठूदा कार्यालयबाहेक प्रहरीको दोस्रो ठूलो कार्यालय उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसमेत जल्यो । अनुसन्धान कार्यालयका कमान्ड एसएसपीले सम्हाल्छन् । उपत्यका मातहतका अधिकांश प्रहरी वृत्त र प्रभाग, चौकी र बिट नष्ट भए ।

जेनजी समूहले प्रहरीको कार्यालयमात्रै जलाएनन् कि प्रहरी वृत्त महाराजगञ्ज भवनमा त आगो लगाएपछि दुईजना प्रहरीलाई कुटीकुटी विभत्स रुपमा हत्या गरे । प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरका एक प्रहरीलाई जिउँदै जलाएका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीहरू भदौको उर्लँदो बागमती नदीमा हाम फालेर जोगिएका थिए ।

नदीमा पसेका प्रहरीमाथि ढुंगामुडा प्रहार भयो । केहीलाई नदीभित्रै पसेर नांगै बनाउँदै कुटपिट गरे । प्रहरीमाथि उपत्यकामै यस्तो प्रकृतिको निर्मम हमला भएको इतिहासमै पहिलो पटक हो । प्रदर्शनकारको नाममा प्रहरी कार्यालयभित्र छिरेका अपराधिक तत्वले प्रहरीका ड्रेस तथा हतियार लुट्दै सडकमा भिडियो बनाएका थिए ।

उपत्यकाबाहेक देशभरका अधिकांश प्रहरी कार्यालय जलेका छन् । भदौ २३ गते १२ बजेपछि प्रदर्शन अझ उग्र भएर निस्एिपछि प्रहरी गोली चलायो र २४ गतेको प्रर्दशनमा ठूलो क्षति व्यहोर्यो । संसद् भवन मात्रै होइन, प्रहरीका कार्यालयहरू निसानामा परे । प्रहरीले आफ्नै कार्यालयहरूमा आक्रामण भइरहँदा जोगाउन सकेन भने आफ्नो ज्यान पनि बालबाल बचायो ।

प्रहरीप्रति आक्रमणकारीहरु बढी नै उत्तेजित भएका थिए । कतिपय ज्यान जोगाउन भएभरका हातहतियार तथा प्रहरीका लुगासमेत फुकाले भागेका थिए । सुरक्षाकर्मीले पहिलो दिन अर्थात भदौ २३ भन्दा दोस्रो दिन २४ गते क्षति कम हुने आँकलन गरेर बसेको थियो । जसकारण संसद भवन, सिंहदबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरूसमेत जल्न पुगेको सुरक्षा अधिकारीहरुको दावी छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार