२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

नयाँ पार्टी खोल्ने तयारीमा बालेन, क-कसले देलान् साथ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

विक्रम संवत् २०८२ साल नेपाली राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण मोडको रूपमा दर्ज भएको छ । जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढालेको छैन देश नयाँ दिशामा समेत ढल्किएको छ । पुराना दलका शीर्ष नेताहरू पाखा लाग्दै छन् नयाँ नेतृत्वको जन्म हुने सम्भावना बढेको छ ।

जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । साथै, प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने म्यान्डेटसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी कार्कीले त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको सिफारिस गरिन्, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएर नयाँ निर्वाचन मिति तय भइसकेको छ । यद्यपि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपतिसमक्ष निर्णय फिर्ता लिन माग गरेका छन् ।

तर राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै देशले कठिन परिस्थिति पार गर्दै शान्तिपूर्ण निकास पाएको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैमा अपिल गरेका छन् । निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ राजनीतिक दल गठनको तयारी गरेका छन् ।

उनले ‘हाम्रो नेपाली पार्टी’लाई नै अगाडि बढाउने तयारी गरेको बताइएको छ । यद्यपि पार्टीको नाम केही परिवर्तन गरिने बताइएको छ । यो पार्टी मूलतः ‘लौरो अभियान’का कार्यकर्ताहरूबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।

जेनजी आन्दोलन र बालेनको समर्थन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई बालेनले सामाजिक सञ्जालमार्फत खुला समर्थन जनाएका थिए । उक्त आन्दोलन भ्रष्टाचार र ओली सरकारले सामाजिक सञ्जलामा लगााएको प्रतिबन्धविरुद्ध थियो । आन्दोलनकारीहरूले २८ वर्षमुनिका युवाहरूलाई मात्र सहभागी बनाउने नीति अपनाएका थिए ।

जसले गर्दा ३५ वर्षीय बालेन प्रत्यक्ष सहभागी नभए पनि उनी नै नयाँ नेतृत्वको प्रतीकको रूपमा स्थापित भए । आन्दोलनका क्रममा सरकारी दमनमा परेर पहिलो दिनमै १९ जना आन्दोलनकारीको ज्यान गएको थियो । त्यसपश्चात् बालेनले तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध कडा टिप्पणी गर्दै आफ्नो फेसबुक पोस्टमार्फत आन्दोलनको पूर्ण समर्थन जनाएका थिए ।

उनले लेखेका थिए, ‘भोलिको प्रदर्शन स्पष्ट स्वतस्फुर्त रूपमा जेन–जेडको हो । उहाँहरू भनेको २८ वर्षमुनिका हुनुहुन्छ, जसको लागि म पनि अझै बूढो देखिन्छु । मलाई उहाँहरूको उद्देश्य बुझ्न मन छ । भोलिको प्रदर्शनमा कुनै पनि पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ता वा स्वार्थी तत्वले हस्तक्षेप नगर्नु होला । म उमेरको कारण सहभागी हुन पाउँदिन, तर मेरो समर्थन उहाँहरूलाई छ ।’

भदौ २४ गतेको आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि जेनजी पुस्ताले काठमाडौंका मेयर बालेन शाहलाई नै प्रधानमन्त्री बनाउन चाहेका थिए । यद्यपी, धरानका मेयर हर्क साम्पाङलाई पनि नेतृत्व दिनुपर्ने आवाज उठेको थियो । जसले गर्दा जेनजीबीच नै अड्डामै लफडा भएको थियो । तर हर्क साम्पाङ उपयुक्त नेता नरहेको निष्कर्ष निकाल्दै जेनजीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारे ।

बालेनले पनि आफू नयाँ दल गठनको तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सुझाव दिएका थिए, जुन सुझावअनुसार नै सरकार गठन भयो । हाल कार्की नेतृत्वको सरकारमा मन्त्रीहरूलाई निर्वाचनमा उठ्न नदिने तर पार्टीमा काम गर्नुपर्ने विषयमा छलफल भइरहेको बताइएको छ । बालेनको नयाँ पार्टीले भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना र युवा सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउने बताइन्छ ।

पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ रहने बताइएको छ । देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा प्लेटफर्म बन्ने लक्ष्य राखेको छ । यसले नेपाली कांग्रेस, नेकपा एमालेजस्ता पुराना दलहरूलाई चुनौती दिने सम्भावना देखिएको छ । केही समयदेखि बालेनले नयाँ दल खोल्ने चर्चा चलिरहेको थियो ।

यद्यपि, यसअघि हर्क साम्पाङले उक्त कुरा असत्य भएको दाबी गरेका थिए । अब भने परिस्थितिले नयाँ मोड लिएको छ । नेपालको राजनीतिमा अब नयाँ युगको सुरुवात हुन सक्ने संकेत देखिएको छ । तर त्यसका लागि बालेन, हर्क, सुमना, कुलमानजस्ता सम्भावित नेताहरूले व्यक्तिगत अहमलाई पन्छाएर साझा उद्देश्यमा एकजुट हुनुपर्नेछ । अबको नेपालको राजनीतिक भविष्य बालेनकै कदममा निर्भर हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार