राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गरेकी छन् । उनले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छोडेँ ।’ पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गरेको उनको आरोप छ ।
उनी भन्छिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।’
उनले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि सोच्न आग्रह गरेकी छन् । उनी भन्छिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’
सत्यपाटी