नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू अन्तरिम सरकारमा सहभागी हुनेबारे अहिलेसम्म टुंगो लागिनसकेको बताएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङलाई संभावित उर्जा मन्त्रीका रुपमा चर्चा गरिएको छ ।
यद्यपि उनले औपचारिक प्रस्ताव आइनसकेको बताए । ‘हिजै शपथ लिइसक्यो भन्नेजस्ता हल्ला पनि चलाइएका छन् । तर अहिलेसम्म केही टुंगिएको छैन ,’ घिसिङले भने, ‘अलिअलि कुरा भइरहेको छ । औपचारिक प्रस्ताव आइसकेको छैन ।’
प्रस्ताव आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा घिसिङले त्यसपछि आफूले विचार गर्ने प्रतिक्रिया दिए । यसअघि उनलाई जेनजी समूहले प्रधानमन्त्रीका रुपमासमेत अघि सारेका थिए । शुक्रबार मुलुकको पहिलो महिला प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।
प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार
