२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

अनलाइनबाट खोजिँदै सक्षम मन्त्री

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २८ गते शनिबार

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् गठन प्रक्रियामा युवा पुस्ता जेनजी लाई सहभागी गराउने नवीन प्रयासको थालनी गरेकी छन् । परम्परागत नातावाद र कृपावादको संस्कृति तोड्दै विज्ञ र सक्षम व्यक्तिहरूलाई सरकारमा सामेल गराउने उद्देश्यले युवाहरूले अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन अभियान सुरु गरेका छन् ।

प्रधानमन्त्री कार्कीले नै ‘जेनजी’ पुस्ताको भावनालाई सम्मान गर्दै उनीहरूको सहभागितामा मन्त्रिपरिषद् गठन गर्ने इच्छा देखाएपछि युवाहरूले यो अभियान थालेका हुन् । उनीहरूले विभिन्न सामाजिक सञ्जाल र अनलाइन फारममार्फत विभिन्न मन्त्रालयका लागि योग्य, सक्षम र विषयविज्ञ व्यक्तिहरूको नाम सिफारिस गर्न आम नागरिकलाई आह्वान गरेका छन् ।

यसअघि राजनीतिक भागबण्डा, व्यक्तिगत सम्बन्ध र विज्ञताभन्दा पनि पहुँचका आधारमा मन्त्री नियुक्त गर्ने परिपाटीले देशले गति लिन नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो । जेनजीले थालेको अभियानले उक्त गलत परम्परालाई तोड्दै जनसहभागिता र विज्ञतालाई प्राथमिकता दिने विश्वास गरिएको छ ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य कार्यदेश पाएको छ । छोटो कार्यकाल भए पनि सक्षम र जनउत्तरदायी मन्त्रिपरिषद् गठन गरेर सुशासनको जग बसाल्ने र निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्ने चुनौती यो सरकारसामु रहेको देखिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार