प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेकी छिन् । शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी कार्कीले आज मन्त्रिपरिषद् विस्तारका लागि सहयोगीहरुसँग आन्तरिक छलफल चलाइरहेकी छिन् ।
आज मन्त्रीहरूको नामावली टुङ्ग्याउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री कार्की रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीमा कार्कीले नियुक्ति लिएसँगै उनको नेतृत्वमा बन्ने सरकारका सम्भावित केही मन्त्रीहरु नाम शुक्रबारबाटै चर्चा हुन थालिसकेको थियो ।
कार्कीको क्याबिनेटमा नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङ्, अधिवक्ता ओम प्रकाश अर्याल र जेनजी आन्दोलनका नेतृत्वकर्ता एवं हामी नेपालका संस्थापक सुदन गुरुङसमेत मन्त्री बन्ने चर्चा चलेको छ । तर उनीहरुको नाम मन्त्री बन्ने लिस्टमा पक्का भएको एकिन जानकारी भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
यस्तै रास्वपा नेतृ सुमना श्रेष्ठ पनि मन्त्री बन्ने चर्चा चलेको थियो तर उनले आफू अहिले मन्त्री बन्ने दौडमा नरहेको जनाइसकेकी छिन् । अन्य व्यक्तिहरूको भने खासै चर्चा चलेको छैन । अहिलको व्यवस्था अनुसार प्रधानमन्त्रीसहित २५ सदस्यमन्त्रीमण्डल रहँदै आएको छ । जसमा तीन राज्यमन्त्री रहने गरेका छन् ।
सत्यपाटी