२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday
अन्तरिम सरकार गठन

फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ ।

कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भए पनि अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री कार्कीसँगै केही मन्त्रीको शपथ ग्रहणको तयारी गरिएको बताइए पनि आज भने हुन सकेन । अहिले भएको समारोहमा प्रधानमन्त्री कार्कीको मात्रै शपथ भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भने ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्र पदमा नियुक्त गरिएको उल्लेख गरेको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विषम् तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षाअनुसार राजनीतिक दल तथा सरोकारवाहरुसँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार