जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ । पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ भने अब उनीहरुको पुनरागमन हुने कुरामै अनेकौं आशंका रहेका छन् ।
बुधबारसम्म कांग्रेस र एमालेले आफ्ना कुरा राखे र संबिधान भित्रबाटै समाधान खोज्नुपर्ने बताए । तर देश भने अब जेनजीको विचारमा अगाडी बढ्ने बाटोमा रहेको छ । जेनजीलाई वैचारिक रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहले गाइड गरेका छन् । उनले अलमलमा रहेका जेनजीलाई बुधबार राति एक पोष्ट गर्दै संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्ने र छिटो नयाँ चुनाव गर्ने स्पष्ट रोडम्याप दिएका छन् ।
बालेनको रोडम्याप अनुसार देश अघि बढेमा सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेको छ । केही पक्षले संविधानको व्यवस्था अनुसार कसरी सुशीला कार्की प्रधानमन्त्री बन्न मिल्छ भन्नेजस्ता प्रश्न गरेका छन् । यति ठुलो आन्दोलनले पुरानो सत्ता ढालेको र पुराना दलको राजनीतिक विरासत ढालेको अवस्था हो ।
यसमा दलहरुले के भन्छन् ? लोकतन्त्रको के हुन्छ भन्ने प्रश्न अहिलेको अवस्थामा ओझेलमा परिसक्यो । कलिला युवाको रगत बगेको यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सहित र उत्तम बाटो बालेनको रोडम्याप नै हो । अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प खोज्नु नै हुदैन ।
केहिले बालेनका बारेमा टिप्पणी गर्दै महानगरमा काम गर्न नसकेको, अराजक भएको, कवाडी र साइकलमा व्यापार गर्नेलाई लखेटेको जस्ता आरोप लगाउने गरेका छन् । यसको काउन्टर प्रश्न गणतन्त्रलले दिएको महँगो स्वतन्त्रताले आज देशको हालत यस्तो भएको हामीले बिर्सनुहुँदैन । खर्चिलो चुनाव, नेताहरुका आसेपासेको रजाई, बिचौलिया र सिण्डिकेटले जेलिएको राजनीतिक नेतृत्वले देशलाई निरासाको पराकाष्ठमा पुर्याएको नतिजा हो अहिलेको समय ।
अर्कोतर्फ सायद अहिले बालेनले चाहेको भए प्रधानमन्त्री सजिलै हुनसक्ने अवस्था थियो तर उनले चुनाव पर्खेको बुझ्न सजिलै सकिन्छ । त्यसैले उनी अति उत्तम नहुन सक्छन् तर अहिले हाम्रो अगाडी देखिएका सबै विकल्प मध्ये सहि विकल्प बालेन नै हुन् र उनले अगाडी सारेको रोडम्याप हो । जसले जेनजीको चाहनालाई दिशानिर्देश गर्दछ ।
बालेनले के भने ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरुलाई आग्रह गर्दै भनेका छन्, ‘तपाईंहरुले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ ।’ उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत् यस्तो सन्देश दिँदै अब देश अन्तरिम सरकारतर्फ अघि बढेको र त्यसले देशलाई नयाँ जनादेश दिने काम भएको बताएका छन् ।
उनले चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने बताउँदै त्यसमा पूर्ण समर्थन रहेको धारणा राखेका छन् । उनले राष्ट्रपतिसमक्ष अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।
यस्तो छ बालेनको स्टाटस
प्रिय जेनजी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो ।
यो अन्तरिम चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईँहरू कति परिपक्व हुनुहुँदोरहेछ भन्ने कुरा यसैले जनाउँछ ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।
सम्माननिय राष्ट्रपति ज्यु,
Gen Z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोला ।
सत्यपाटी