नेपाली सेनाका प्रधानसेनापतिसँगको जेनजीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ । प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेनजी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन् ।
‘म आजको छलफलबाट बाहिर निस्किसकेँ है,’ उनले भनेकी छन्, ‘हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ ।’ यसअघि गएराति पनि उनै बमसहित जेनजीका नौं जना प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ ।
उनले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनेसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएको बताएकी छन् ।
उनले नेपाली सेनाको मुख्यालयबाट बाहिरिएसँगै प्रदर्शनकारी जेनजी समुहसँग छलफलका निम्ति तयारी गरिरहेका पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ । हिजो पनि हामी कुनै मागहरू लिएर प्रधानसेनापतिलाई भेट्न गएका थिएनौं । हिजो हाम्रो स्पष्ट भनाइ यही थियो, हामीलाई हाम्रो मागहरू तयार गर्न समय चाहिन्छ ।’

उनले आफूहरु ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन-जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्ने पनि बताएकी छन् । उनले भनेकी छन्, ‘हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित प्रधानसेनापतिसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ ।’
जेनजीका मागहरू, राज्यको आगामी बाटो जेनजीले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान रहेको जेनजी प्रतिनिधि बमले जनाएकी छन् । ‘आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ । तर आन्दोलनको बेसिक नम्सविरुद्व छलफल अघि बढाउन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ,’ जेनजी प्रतिनिधि बमले भनिन् ।
उनले थप लेखेकी छन्, ‘जेनजी आन्दोलनको कुनै लिडर छैन यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजी कै समुहले लिड गरेको हो । तसर्थ अहिले वार्तामा रहेका जेन–जेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनविज्ञ छु । धन्यवाद !’
सत्यपाटी