नेपाली सेनाले जेनजी आन्दोलनकारीलाई वार्तामा बोलाए पनि आधिकारिकताको विषयमा अन्योल देखिएको छ । स्रोतका अनुसार वार्तामा गएको एउटा समूहलाई सैनिक नेतृत्वले आधिकारिकताको विषय उठाएर फिर्ता पठाएको छ ।
पुरुषोत्तम यादवको समूहलाई नेपाली सेनाको नेतृत्वले फिर्ता पठाएको हो । अर्को रबिकिरण हमालको नाममा अर्को विज्ञप्ति आएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले हिजो भिडियो सन्देश जारी गर्दै आन्दोलनरत् पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।
दुई दिनमै आन्दोेलनका क्रममा ठलो जनधनको क्षति पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । आन्दोलन काबुबाहिर गएपछि सेनाले अहिले सुरक्षा नेतृत्व लिएर राजनीतिक समाधानका लागि छलफलको प्रयास गरिरहेको छ ।
अब वर्तमान संविधान अनुसार सरकार निर्माण प्रकृया अगाडि बढ्न सक्ने अवस्था देखिएको छैन । राष्टपति रामचन्द्र पौडेलले पनि वार्ताका लागि आन्दोलनरत् पक्षलाई वार्तामा बस्न आग्रह गरेका छन् । जेनजी आन्दोलनकारीबाट फरकफरक विज्ञप्ति आइरहेका छन् भने नेतृत्वसमेत नदेखिएपछि वार्ताबारे अझै प्रष्ट हुन सकेको छैन ।
स्रोतहरुका अनुसार स्वतस्फूर्त रुपमा आन्दोलन उठे पनि एकीकृत नेतृत्व नहुँदा राजनीतिक निकास निकाल्न समस्या भइरहेको छ । राजनीतिक अगुवाईका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आग्रह गरेको देखिएपनि यसबारे बालेन बोलेका छैनन् । मुलुक शासकीय शून्यताको अवस्थामा छ ।
सत्यपाटी