नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा तीन दिन चल्दै छ । बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशनको एजेन्डा र छलफलका विषयलाई अन्तिम रूप दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विषयलाई एजेन्डाबाट हटाएको छ ।
उक्त विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रवेश निषेध गरिएको छ । योसँगै एमालेभित्रको राजनीति पेचिलो बन्दै गएको छ । बैठकपछिको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको व्यक्तित्व र योगदानलाई विवादमा नतान्न आग्रह गरे ।
‘पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार हो । उहाँको सदस्यता नवीकरण भएको छैन र यो विषय महाधिवेशनको एजेन्डासँग सम्बन्धित छैन,’ उनले भने, ‘यसबारे थप छलफल आवश्यक भए केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीमै हुन्छ ।’ भोलि पेश हुने दस्तावेजलाई आज सचिवालय बैठक बसेर स्वीकृत गरिएको छ ।
विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्ने तयारी छ । करिब तीनहजार सिट क्षमताको हल छिर्न बनाइएका चार वटा प्रवेशद्वारमध्ये पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश हुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।
महाधिवेशनको मुख्य एजेन्डा
सचिवालय बैठक सुरु हुनुअघि केन्द्रीय कार्यालय च्यासल पुगेर स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराएका छन् । थापाले अध्यक्ष ओली र महासचिव पोखरेललाई समेत आफ्नो फरक मत पठाएका छन् । थापाले फरक मतमा दुई कार्यकालभन्दा बढी पदाधिकारी हुन नपाउने र ७० वर्षे उमेर हद कायम राख्नुपर्ने विषय समेटेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विधान बमोजिम भएकाले त्यसलाई स्विकार्नुपर्ने, पार्टीका कमिटी प्रणालीहरू लोकतान्त्रिक मान्यतानुसार स्विकार्नुपर्ने र जनवर्गीय संगठन र पार्टी कमिटीमा मनपरी अन्त्य हुनुपर्ने फरक मतमा उल्लेख छ । यसैगरी उपाध्यक्षत्रय ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पनि फरक मत लैजाने तयारीमा छन् ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा अघि सारेको छ । आजबाट सुरु हुने विद्यान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका रूपमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहनेछ ।
सत्यपाटी