२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday
विचार

‘नेतृत्व सुधार तथा विधि-विधानको पालना, पार्टी निर्माणको दीगो आधार’

पार्टीमा तर्क र बहस गर्नेहरूलाई सधैं विरोधी मात्रै देख्ने होइन । सबल, सक्षम र बलियो पार्टी निर्माणका लागि निरन्तर बहस जरुरी हुन्छ भन्ने बुझ्नुपर्छ ।
सत्यपाटीसत्यपाटी । अर्घाखाँची । २०८२ भदौ १९ गते बिहीबार

नेतृत्वले जे गर्छ सधैं सबै राम्रो मात्रै गर्छ भन्ने बुझाइ गलत हो । राम्रो निर्णयलाई आत्मसात गरेर कार्यान्वयनमा लाग्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ र सच्याउन लगाउनुपर्छ । नेकपामा जिल्ला नेतृत्व चयन गर्दा विचार र विधिको मतलब नगरी मनोमानी गर्न खोजियो हामीले यो गलत छ बिधि बनाएर मात्र नेतृत्व चयन गरौं भन्यौं पार्टीले विधि बनायौ र हामीले भने अनुसार मौजुदा कमिटीको नेतृत्वबाट नै नेतृत्व घोषणा गर्यो वातावरण सहज बन्यो ।

आम छलफल र विचारको टुंगो नगरी दुई नेताले घोषणा गरेर गरिएको एकता दीगो हुन सक्दैन भनेका थियौं आखिर दुई वर्ष पुग्दा नपुग्दै नेकपा विघटन भयो । नेकपा विघटनपछि एमाले पुरानो कमिटी २०७५ जेठ २ को अवस्थामा फर्कनुपथ्र्यो तर विधान विपरित हजारौंको संख्यामा आयोजक कमिटी घोषणा गरियो, अर्कोतर्फ माधव नेपालहरुले समान्तर कमिटी बनाए । हामीले आयोजक कमिटी र समानन्तर कमिटी दुबै पार्टी विधान बिपरित भएकोले हामी कुनै पनि कमिटीका सदस्य होइनौं । एकतापूर्व एमालेको २०७५ जेठ २ को जिल्ला कमिटी उपसचिव हो ।

प्रेमनारायण गैरे । तत्कालिन जिल्ला कमिटी उप-सचिव, नेकपा एमाले, अर्घाखाँची

पार्टीले आयोजक कमिटी विघटन गरेर २०७५ जेठ २ का कमिटी र जिम्मेवारीमा फर्कनुपर्छ भन्यौं । कतिपय मान्छेहरुले बगेको खोला फर्कदैन भन्दै हाम्रोविरुद्धमा उत्रिए । अब पाउँछस् उपसचिव भने । तर अन्ततः पार्टी हामीले भने बमोजिम नै २०७५ जेठ २ मा फर्कियो । पार्टी लिगमा आयो । यसले पार्टीलाई ठूलो दुर्घटना हुनबाट जोगायो, हामीले पनि पूर्ववत् जिम्मेवारी पायौं । अनि उत्कृष्ट कार्य सम्पादन पनि गर्यौ । यसले एमालेलाई ठूलो दुर्घटना हुनबाट पनि जोगायो । हामीले विचार र विधिको बहस गर्न डराएको भए पार्टी ठूलो दुर्घटनामा पर्न पनि सक्थ्यो ।

पार्टीमा तर्क र बहस गर्नेहरूलाई सधैं विरोधी मात्रै देख्ने होइन । सबल, सक्षम र बलियो पार्टी निर्माणका लागि निरन्तर बहस जरुरी हुन्छ भन्ने बुझ्नुपर्छ । अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय यतिबेला ठूलो बहसको बिषय बनेको छ र यो निकै पेचिलो बन्दै गएको छ । राजनीतिमा सक्रिय हुन्छु भनेर घोषणा गरेपछि बिद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गर्नु राम्रो होइन भन्ने नै लागेको छ । हाम्रो संविधान र पार्टीको बिधानले पनि यसो गर्न दिदैन र विद्यालाई गरिने अपमानले एमाले बलियो बन्नै सक्दैन ।

करिव ७६ वर्षको इतिहास बोकेको एमाले जस्तो संवैधानिक विशाल पार्टीलाई थप बलियो बनाउन हल्ला र मौखिक कानूनले होइन व्यबस्थित बिधि र बिधानबाट चलाउनु पर्छ ।पार्टीले हतारमा गरेको यो निर्णय सच्याउनुपर्छ र एमाले पूर्व उपाध्यक्ष समेत रहेकी कमरेड विद्या भण्डारीको सदस्यतालाइ निरन्तरता दिनुपर्छ । (लेखक नेकपा गठन हुनुपूर्व अर्घाखाँची जिल्ला कमिटी उप-सचिव हुन् । पछि नेकपा एमालेको लुम्विनी प्रदेश कमिटी सदस्य थिए भने अर्घाखाँची जिल्लाको नवौं जिल्ला अधिवेशनमा उपाध्यक्षको उमेद्वार वने पश्चात हाल जिम्वेवारी बिहिन बनाइएको छ ।)

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार