२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

सी र पुटिनबीचको अनौपचारिक गफ खुला माइकमा सुनिएपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १९ गते बिहीबार

बेइजिङमा आयोजित सैन्य परेडअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसको आयु लम्ब्याउने अंग प्रत्यारोपण र दीर्घायुको बारेमा कुराकानी गरेको ‘अडियो’ सरकारी सञ्चारमाध्यमको माइक्रोफोनमा कैद भएको रोयटर्सले जनाएको छ ।

ऐतिहासिक तस्बिरहरूमा सी तियानमेन स्क्वायरमा रेड कार्पेटमा हिँड्दै पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँग हात मिलाएको र गफ गरेको देखिन्छ । यी दृश्यहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनौतीको रूपमा हेरिएको छ । चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीको फुटेजअनुसार पुटिन र किमसँगै हिँड्दा सीले मन्डारिन भाषामा भने, ‘आजकल… ७० वर्षको ।’

त्यसपछि सीका अनुवादकले पुटिनलाई ट्याङ वंशको एउटा कविताको पंक्ति रुसी भाषामा अनुवाद गरेर सुनाए, ‘विगतमा ७० वर्षभन्दा बढी बाँच्नु दुर्लभ मानिन्थ्यो । आजकल ७० वर्षमा पनि मानिस अझै बच्चा नै हुन्छ भनिन्छ ।’ त्यसपछि पुटिन हातले संकेत गर्दै सीतर्फ फर्किएर बोले । तर, उनको आवाज सीसीटीभीको फिडमा सुनिएको छैन । त्यसपछि चिनियाँ अनुवादकले पुटिनका टिप्पणीहरू सीलाई सुनाए ।

अनुवादकका अनुसार पुटिनले भने, ‘वायो टेक्नोलोजी विकाससँगै मानव अंगहरू निरन्तर प्रत्यारोपण गर्न सकिने भएकाले मानिसहरू उमेर बढ्दै जाँदा युवा रहन सक्छन् र सायद अमर पनि हुन सक्छन् ।’त्यसपछि क्यामेरा अर्कोतर्फ जाँदा सीले मन्डारिनमा फेरि बोले, ‘अनुमान छ, यो शताब्दीमा १५० वर्षसम्म बाँच्न सम्भव हुनसक्छ ।’ पुटिनले बुधबार एक पत्रकार सम्मेलनमा यो कुराकानीको पुष्टि गरे । सीलाई संकेत गर्दै उनले पत्रकारहरूसँग भने, ‘मलाई लाग्छ हामी परेडमा जाँदै गर्दा अध्यक्षले यसको बारेमा कुरा गर्नुभएको थियो ।’

पुटिनले थपे, ‘आधुनिक माध्यमहरू जस्तैः स्वास्थ्य सुधार र चिकित्सा साधनहरू दुवै र अंग प्रतिस्थापनसँग सम्बन्धित सबै प्रकारका शल्यक्रियाहरूले मानवतालाई आजको जस्तो नभई सक्रिय जीवन जारी रहने आशा गर्न अनुमति दिन्छ ।’ ७२ वर्षीय सी र पुटिन दुवैले पदबाट हट्ने कुनै संकेत गरेका छैनन् । जहाँ सीका पूर्ववर्तीहरू जियाङ जेमिन र हु जिन्ताओले दश वर्षपछि सत्ता छोडेका थिए । तर, सीले सन् २०१८ मा कार्यकालको सीमा हटाए र सन् २०२३ मा तेस्रो पटक चिनियाँ राष्ट्रपतिको पदभार ग्रहण गरका थिए ।

स्रोत : रोयटर्स
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार