२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

प्रधानमन्त्रीज्यू, लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सनु होला !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १४ गते शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले ‘लिपुलेक हाम्रो हो’ भन्ने चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री ओली ‘एससीओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेको सन्दर्भमा साहले उनलाई शुभकामना दिँदै सुझाव दिएका हुन् ।

उनले लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गरेका छन् । ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिन पुगेका छन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८० औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरेका थिए ।

चीन पुगेका प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भने आजै भेटवार्ता गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नेछन् । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससोओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् ।

नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदार (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार