२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

दशैँ नजिकियो, सामान उत्तरी नाकामा अलपत्र

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १२ गते बिहीबार

दशैँ आउन मुस्किलले एक महिना बाँकी छ । यो समयमा लत्ताकपडाको खपत धेरै हुने हुँदा व्यवसायीले चीनबाट सामान मगाउने गर्छन् । तथापि चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोक तातोपानी नाका बन्द हुँदा चाडपर्वलक्षित सामान डेढ महिनादेखि नेपाल भित्रिन सकेका छैनन् ।

गत २४ असारमा आएको बाढीका कारण नेपाल र चीन जोड्ने उत्तरी नाका रसुवाको मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको हो । रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले डेढ महिनादेखि रसुवा नाका ठप्प भएकामा मितेरी पुल निर्माणको काम भइरहेकाले दसैँअगाडि नाका खुल्ने सम्भावना नभएको बताए ।

यस्तै बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द हुँदा सामान बाटोमै रोकिएका हुन् । तातोपानी नाका भदौमा एक हप्ता खुला भए पनि फेरि बन्द भएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र चुडालले पानी परिरहेको र बाढीपहिरोको जोखिम अझै रहेकाले कहिलेसम्म नाका सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएको बताए । प्राकृतिक प्रकोपले डेढ महिनादेखि नाका बन्द हुँदा दशैँलक्षित सामान बाटोमै रोकिएका हुन् ।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले तातोपानी नाकामा ३०० देखि ४०० सङ्ख्यामा सामान बोकेका गाडी रोकिएको जानकारी दिए । बाढीले रसुवाको मितेरी पुल बगाएपछि तातोपानी पनि बन्द भएको छ । ‘बिचमा एक हप्ता खुलेर २०–३० गाडी सामान आएर फेरि नाका बन्द भएको छ,’ उनले भने, ‘दुवै नाका बन्द हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिएका छन् ।’

दसैँलक्षित सामान नाकामा रोकिई समयमा आउन नसक्दा व्यवसायीलाई ठुलो क्षति हुने उनको भनाइ छ । भारतको कोलकाताबाट सामान ल्याउँदा ४५ दिन लाग्ने र ढुवानी खर्चसमेत बढी हुने उनको भनाइ छ । चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार