२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

एक महिनामै नेपालगन्ज भन्सारद्वारा ७४ प्रतिशत राजस्व सङ्कलन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ ११ गते बुधबार

पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिए पनि सो लक्ष्यसमेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनाका लागि एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ अर्थात ७४.१४ प्रतिशत मात्रै राजस्व असुली भएको हो । चालु आव २०८२–०८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रूपैयाँ वार्षिक भन्सार असुली लक्ष्य निर्धारण गरिएको छ ।

यसअघि आर्थिक वर्ष २०८१–०८२ मा नेपालगन्ज भन्सारले २० अर्बभन्दा बढी राजस्व सङ्कलन गरे पनि लक्ष्य हासिल गर्न सकेको थिएन । भन्सारको तथ्याङ्क अनुसार, आव २०८०–०८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएकोमा आव २०८१–०८२ मा त्यसभन्दा दुई अर्ब १२ करोड रुपैयाँ बढी अर्थात् २० अर्ब २८ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

आव २०८१–०८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि हुने र राजस्व सङ्कलन बढ्ने आशा गरिए पनि लागत बढेको भन्दै केही मालवाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयमा सङ्कलन हुने राजस्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ । इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट पनि बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार