२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको पहिलो महिनामा झापाको काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१–०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए । पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको ७९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको १२८ किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार