सरकारले बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ । अध्यक्षमा नियुक्त हुँदा ओझाले पेस गरेका कागजात छानबिन समितिले शंकास्पद रहेको निष्कर्षसहित प्रतिवेदन पेस गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
ओझाको योग्यता तथा अनभुव सम्बन्धमा प्रश्न उठेपछि सरकारले गत असार ३० मा पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा कपिल वली र जीवनप्रकाश सिटौला थिए । समिति गठनसँगै ओझा निलम्बनमा परेका थिए ।
समितिले गत साता प्रधानमन्त्री कार्यालयमा छानविन प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री कार्यालयले प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ओझालाई बार्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
छानविन प्रतिवेदनमा कानुनले व्यवस्था गरेअनुसार सम्बन्धित क्षेत्रको न्यूनतम अनुभव ओझासँग नभएको, कार्यसम्पादन कमजोर रहेको लगायत विषय औंल्याइएको छ । समितिलाई तोकिएको कार्यभारका आधारमा अनुसन्धान गर्दा अध्यक्ष ओझाले पेस गरेका कागजातमा कानुनले तोकेको क्षेत्रको अनुभव पुगेको नभेटिएको जनाइएको छ ।
सत्यपाटी