नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१–०८२ मा नाफामा उल्लेख्य गिरावट भएको जनाएको छ । प्राधिकरणका अनुसार, यो वर्षको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा कम हुनुका कारणहरूबारे जानकारी दिँदै भने, ‘विदेशी मुद्रा (जापानी येन)मा भएको अधिमूल्यन, प्रशासनिक खर्चमा वृद्धि, औसत विद्युत बिक्री मूल्यमा कमी र डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रोभिजनिङका कारण नाफामा कमी आएको हो ।’
उनले जापानी येनको अधिमूल्यनबाट २ अर्ब र बक्यौता प्रोभिजनिङबाट साढे ५ अर्ब नोक्सानी भएको बताए । यद्यपि, उनले आगामी वर्षमा नाफा वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको छ । सञ्चालन खर्च, ब्याज खर्च लगायत सम्पूर्ण खर्च जोड्दा कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड पुगेको छ ।
यसले गर्दा नाफा ९ अर्ब ६ करोड ७० लाखमा सीमित भएको हो । आर्थिक वर्ष २०८१–०८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल क्षमता तीन हजार ५९१ मेगावाट पुगेको छ । यो वर्ष प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको थियो, जसमा प्राधिकरण र सहायक कम्पनीहरूको योगदान ३४ प्रतिहत, स्वतन्त्र उत्पादकहरूको ५५ प्रतिशत र भारतबाट आयातित विद्युतको योगदान ११ प्रतिशत रहेको छ ।
नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । त्यस्तै, विद्युत ग्राहक संख्या ४.६ प्रतिशतले वृद्धि भई ५७ लाख १ हजार पुगेको छ । राष्ट्रिय ग्रिडको पहुँच ९८ प्रतिशत नजिक पुगेको छ भने विद्युत चुहावट ०.४७ प्रतिशतले घटेको छ । यो वर्ष प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ ।
प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेयता निरन्तर नाफा कमाइरहेको प्राधिकरणमा उनको बर्खास्तगीपछि नाफामा कमी आएको तथ्यले देखाएको छ । कार्यकारी निर्देशक शाक्यले भने नाफा कम हुनुमा बाह्य र आन्तरिक कारणहरू जिम्मेवार रहेको बताएका छन् । उनले आगामी वर्षमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
सत्यपाटी