गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका उनीसहितका १९ जनालाई धरौटीमा छाडिने भएको हो ।
गुन्डागर्दी गरेको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गर्दै एक वर्ष कैद र १० हजार जरिवानाको सजाय माग गरेका थिए । वकिलसँगको बयानमा उनले आफू एमाले सदस्य, पार्टी अध्यक्ष केपी शर्मा ओलीको झोले हुँ भनेका थिए ।
अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा र अन्य नौं जनालाई जनही १०–३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गोरखाका ५४ वर्षीय गुरुङसँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश खड्का, राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको थियो ।
यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँका चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र सफल भन्ने सुजल शाहीविरुद्ध अभियोग पत्र दायर भएको थियो ।
उनीहरूले काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप थियो । सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा हरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरी सर्वसाधारण नागरिकलाई डर धाक धम्की दिएको आरोप पनि थियो ।
साउन १६ गते राति साढे १ बजेसम्म होटलमा बसेर ठूलो आवाजमा चिच्याउने, अश्लिल अपशब्दहरू प्रयोग गरेर कराउने, विगत केही दिनदेखि नै विभिन्न स्थानमा केक काटेर जन्म दिन मनाउँदा सार्वजनिक स्थानहरूमा हो हल्ला गरेको, घरेलु हतियार प्रदर्शन गरेको, ती गतिविधिका भिडिओ सामाजिक सञ्जालमा राखेर थप आतंकित पारेको र शान्ति भंग गरेको आरोप उनीहरूलाई लगाइएको थियो ।
उनीहरूले यस्ता गतिविधि गरेको सूचनापछि पुगेको प्रहरीलाई समेत तथानाम गालिगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार गरेको अभियोग पत्रमा उल्लेख थियो। उनीहरूको गाडीबाट प्रहरीले दुई थान खुकुरी, स्प्रेको बट्टा एक थान, फलामको रड २ थान पनि बरामद गरेको थियो ।
चक्रे मिलनसहितका प्रतिवादीहरू यसअघि पनि पटक–पटक विभिन्न मुद्दाहरूमा पक्राउ परी छुट्दै आएको प्रहरीको अभिलेखमा फेला परेको छ । गणेशबहादुर बोगटीलाई यसअघि २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । उनी २०७९ चैत २७ गते पक्राउ परेका थिए ।
त्यसपछि उनी २०८० वैशाख ३ गतेसम्म हिरासतमा बसेकाले उनको कैद कट्टा भएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले कैद कट्टा भइसकेको जानकारी दिएको छ । डिल्लीराज कँडेललाई पनि यसअघि अभद्र व्यवहारको कसुरमा एक हजार ८०० जरिवाना तोकिएको थियो ।
रितिक लामाविरुद्ध पनि यसअघि अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०८० असार ६ गते तीन हजार रुपैयाँ जरिवाना र १६ दिन कैद तोकिएको थियो । यसअघि समेत उनीहरूले कसुर गरेकै कारण यसपटक भने अभद्रै व्यवहारको मुद्दा अदालत पुगेको हो । उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो ।
सत्यपाटी