२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

खुद्रा मूल्य नराखिएका जुत्ता चप्पल बिक्री गर्ने कारखानालाई दुई लाख जरिवाना

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २७ गते मंगलबार

अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर जुत्ता चप्पल बजारमा पठाउने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बजार अनुगमन गर्दा नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकपुरस्थित गुरदास फुटवेयर इण्डष्ट्रीले एमआरपी उल्लेख नगरी बजारमा उत्पादन बिक्री वितरण गरेको देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले बजार अनुगमनको क्रममा सो कारखानाले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य नराखेरै उत्पादन बजारमा बिक्रीका लागि पठाएको पाइएकाले कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको बताए ।

उत्पादित कुनै पनि सामानमा एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गर्न नहुने जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले कुनै पनि उद्योग वा कारखानाले त्यस्तो नर्गन अनुरोध समेत गरेको छ ।

नेपालगन्ज २० स्थित गुरदास फुटवेयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका विभिन्न पाँच वटा जुत्ताचप्पल उद्योगको अनुगमन गर्दा गुरदास फुटवेयरले आफ्नो उत्पादनमा एमआरपी नराखेको पाइएको थियो । सोही प्रकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले केही दिन अघि नेपालगन्जको न्यू रोहित आइसक्रिम उद्योगलाई पनि अखाद्य आइसक्रिम बिक्री गरेको जनाउँदै दस हजार रुपियाँ जरिवाना गरेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार