२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

एमालेमा ओली पक्षलाई बाइपास, बलियो बन्दै विद्या क्याम्प

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रभाव फेरि तीव्र बनेको छ । विधान महाधिवेशन लक्षित सुझाव संकलनका लागि नेपाल बौद्धिक परिषद्ले उमेर सीमा र दुई कार्यकालको व्यवस्था विषयमा गुगल फारम पठाएको, काभ्रेमा युवासंघको समानान्तर कमिटी, बागलुङमा अनेरास्ववियुको असन्तुष्ट समूहको भेला र काठमाडौंमा विद्या पक्षधरहरूको सक्रियता बढेको घटनाले पार्टीमा दुई लाइनको संघर्ष प्रष्ट भएको छ ।

काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटा र जिल्ला अध्यक्ष राजन भुर्तेलको समर्थनमा युवासंघले ओलीपक्षबिनै जिल्ला नेतृत्व गठन गरेको छ । बागलुङमा अनेरास्ववियुका आठ जिल्लाका अध्यक्ष सहभागी भेलाले केन्द्रको विभेदपूर्ण निर्णय अस्वीकार गर्दै अधिवेशनहरू गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पनि उमेर सीमा र कार्यकालबारे बहस गर्न नदिने हो भने महाधिवेशनको औचित्य नहुने भन्दै विद्या पक्षमा खुलेर समर्थन जनाएका छन् ।

६ साउनमा भण्डारीको संगठित सदस्यता होल्ड गर्ने एमालेको निर्णयपछि असन्तुष्ट भण्डारीले थापागाउँमा नयाँ सम्पर्क कार्यालय लिएर समर्थकहरूसँग रणनीति तय गर्न थालेकी छन् । यो घर उनको पति मदन भण्डारीको चुनावी प्रचार केन्द्र समेत भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार