२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

प्रेम र विछोडको हृदयस्पर्शी गीत ‘भो यो माया’ (भिडियोसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २६ गते सोमबार

प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पीडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँसु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलनभन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको गीत ‘भो यो माया’ले व्यक्त गरेको छ ।

गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत ‘भो यो माया’ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महसुस हुन्छ । उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ, मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ ।

साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ । भिडियोतर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।

गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थमा डुबाउँछ ।

गीत ‘भो यो माया’मा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । प्रेमको यात्रा सधै एकनासको हुँदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालोजस्तो कठिन र ओरालोजस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडामात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सकेमात्र प्रेम सफल हुन्छ भन्ने सन्देश पनि गीतमा रहेको छ ।

मंसिरमा बिहे गर्ने कुरा, चाडै फर्कि आउने कुराले मनमा एउटा दरिलो विस्वास दिलाएको थियो तर दिएको वाचा र त्यसको टुटाईले सम्वन्धमा ठुलो खाडल परेको छ जुन भावलाई गीतमा अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । प्रेमको यात्रा यति कठिन भइसकेको छ कि अब सहन सक्ने शक्ति सकिएको अनुभूति भएको छ । मायामा ‘आफै रुनुपर्ने’ अवस्था ले मायामा साथको अपेक्षा भए पनि अन्ततः एक्लै पीडा भोग्नुपर्ने बास्तविकता र विडम्बना दर्शाइएको छ ।

माया निस्वार्थ हुनु पर्छ, समर्पित भाव हुनुपर्छ, मायामा छलकपट हुनुहुँदैन मायामा हुने ‘छल’ ‘जालझेल’ले मायामा धोका भएको जनाउँछ भने मायामा आउने ‘भल’ले अप्रत्याशित घटना, बिपरीत परिणाम वा नसोचेको चोटको अर्थ दिन्छ । गीतले यी भावहरुलाई प्रष्ट गरेको छ । ‘छल’ र ‘भल’ दुवै मायामा दरार ल्याउने विम्व हुन् । गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ ।

माया सुरुवातमा मीठो खेलजस्तो लागे पनि अन्त्यमा यसले जेलझैँ बाँध्छ, पिर र आँसु मात्र दिन्छ । सत्य यहि हो कि माया सजिलो हुँदैन र यसबाट टाढा हुनु नै मुक्ति हो । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् । गीत सुन्दै जाँदा, श्रोता स्वयं प्रेमको मीठो सुरुवातबाट तीतो अन्त्यसम्मको यात्रामा सहभागी भएको अनुभूति हुन्छ ।

‘भो यो माया’ केवल एउटा गीत मात्र होइन, धेरैले भोग्ने अधूरा प्रेमकथाको सामूहिक स्वर हो जहाँ मायाले सुरुवातमा सपनाको संसार सजाउँछ तर अन्त्यमा आँसु, विरह, बेदना र सम्झनाको बन्धन बाँधेर हृदयलाई कैदी बनाइदिन्छ । गीतको सम्पूर्ण संरचना प्रेमको एउटा चक्र आशा, विश्वास, धोका र पीडालाई गहिरो भावमा खिचेको छ । समीप आचार्यको शब्द र संगीतमा नारायण सुवेदी आभासको स्वर मिसिँदा ‘भो यो माया’ श्रोताको मनमा लामो समयसम्म गुञ्जिरहने गीत बनेको छ ।

गीत

भो यो माया,
पुग्योहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।

कहिले नदेखु, तिम्रो छायाँ पनि,
खेल रहेछ, तिम्रो माया पनि,
जेल यो माया,
झेलहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।।

उकाली बिर्सियेउ, ओराली झरेसी
गोरेटो भुलीछेउ, दोबाटो भेटेसी
तिर यो माया,
पिरहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।।।

यो आउने मंसिरमा, बिहे गर्छु भन्थेउ
दुई–चार दिनैमा, फर्की आउछु भन्थेउ
छल यो माया,
भल यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।।।।

भो यो माया,
पुग्यो हो यो माया
जेल यो माया,
झेल हो यो माया,
तिर यो माया,
पिर हो यो माया
छल यो माया,
भल यो माया

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार