२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

एउटै फार्मबाट बार्षिक ११ करोड अण्डा उत्पादन

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ साउन २६ गते सोमबार

आइपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।

कम्पनीको आज सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार ४५० पेटी अण्डा उत्पादन हुँदै आएको बताए । कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ ।

फार्ममा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै छ लाख कुखुरा पुर्याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताए । कम्पनीले गत आर्थिक वर्षमा रु आठ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु १८.३७ आम्दानी गरेको थियो ।

अध्यक्ष पोखरेलले पेश गरेको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०–०८१ मा प्रतिसेयर रु ३.६४ आम्दानी गरेको कम्पनीले यसवर्ष प्रतिशेयर आम्दानी बढाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।

साधारणसभाले कम्पनीको २०८१–०८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान (आइपीओ) मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सो सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा अनन्त दाहाल, डा.आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले आफ्नो धारणा राखेका थिए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेन र कम्पनीका बारेमा जानकारी दिएका थिए । साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्वसञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार