२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

झलनाथलाई माधवले सुझाव दिँदै भने, ‘अब ओलीकै सेवामा लाग्नुस्’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २३ गते शुक्रबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेको माथि प्रश्न उठाएका सम्मानित नेता झलनाथ खनाललाई जवाफ फर्काएका छन् । संविधान मिचेर संसद् भङ्ग गरेको कुराको विरोध गरेको र त्यो गल्ती नभएको नेपालको भनाइ छ ।

काठमाडौंमा शुक्रवार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेबाट विद्रोह गर्नु सही भएको बताए । एमालेमा कुनै ठाउँ नरहेपछि विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । सम्मानित नेता खनालले विद्रोहको औचित्यमाथि प्रश्न उठाएकामा अध्यक्ष नेपालले आलोचना गरेका छन् । एमालेमा फर्किएर गएका नेताहरूको अवस्था पनि नेपालले स्मरण गराएका थिए ।

पार्टीको हित र प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिनु सही नभएको अध्यक्ष नेपालको भनाइ छ । उनले भने ‘पार्टीको प्रतिष्ठा बढाउन, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ, विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने ? किन आउनुपर्यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढताका साथ पहल गरेका छौँ ।’

तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासन उलङ्घन गरेर संविधान मिचेर संसद् विघटन गरेको नेपालको भनाइ छ । संसद् पुनस्र्थापनाका लागि तत्कालीन अवस्थामा विद्रोह गरेको बताउँदै नेपालले ओलीले दोस्रो पटक पनि संसद् विघटन गरेको स्मरण गर्दै भने, ‘त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नुहुँदैन थियो ? केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?’

एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु सही भएको बताउँदै नेपालले भने, ‘संविधान जोगाउने मात्रै होइन, कम्युनिस्ट आन्दोलन बदनाम गर्ने काम भइरहेको थियो, हामीले रहरले त्यो पार्टी छोडेको होइन । ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो विद्रोह ठिक लागेन भने ?’ खनालले एमालेबाट अलग्गिनु गल्ती भएको प्रतिक्रिया दिएपछि नेपालले एकपछि अर्को टिप्प्णी गरेका हुन् ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार