२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

राप्रपा महामन्त्री धवलले भने, ‘हाम्रो फरक मत पार्टी विभाजनका लागि होइन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २३ गते शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुको फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् । उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरीत भएको कार्यलाई सच्याउन आफूहरू लागिपरेको बताए । यसलाई पार्टी विभाजनको रूपमा नहेर्न पनि उनले आग्रह गरे ।

पार्टी विभाजन गर्ने आफूहरूको कुनै सोच नभएको उनले बताए । जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उहाँले त्यहीअनुसार केही मतभेदहरू देखिएको बताए । उनले मतभेदहरूलाई आन्तरिक रूपमा बसेर सल्ट्याउन नसक्दा आफूहरू निर्वाचन आयोगको ढोकामा पुगेको उनको भनाई छ ।

महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधान विपरीत गरेका कारबाही, पदमुक्तिहरूलाई पुनः बहाली गर्ने दाबी गरे । पार्टीको विधान विपरीत सामान्य स्पष्टीकरण समेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरूलाई कारबाही गरेको उनको भनाई छ ।

एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरू निर्वाचन आयोग गएको उनले बताए । आयोगले पार्टीलार्ई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उनले जानकारी दिए । उनले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरू रहेको बताए ।

पार्टी अध्यक्ष लिङलेनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गरे । महामन्त्री जबरालाई समेत संगठन विभाग प्रमुखबाट हटाइएका छन् । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधान विपरीत भएको भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रूपमा नै भएपनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्त भएको महामन्त्री राणाको आरोप छ । महामन्त्री जबराले पार्टीमा सुरुवातबाटै स–साना कुराहरूमा पनि कारबाही हुँदै आएको बताए । यसलाई पार्टीभित्रै समाधान गर्ने प्रयास गरेपनि पछिल्लो समय नसकिएको उनको भनाई छ ।

उनले उपचारको क्रममा आफू मुम्बई गएको बेला थाहा नै नदिई पदमुक्त गरिदिएको बताए । त्यस्तो संवेदनशील अवस्था आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । उनले आफूहरूमाथि भएको कारबाही कतिपयले चैत १५ गते तीनकुनेमा भएको घटनालाई जोडेर लिने गरेको भएपनि त्यसमा कुनै सत्यता नभएको बताए ।

नजिकिँदै गरेको महाधिवेशन, पार्टी नेतृत्वको एकल निर्णयको विरोध गरेको लगायतका कारण आफूहरू कारबाहीमा परेको उनको भनाई छ । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले यहाँ भएका निर्णयहरू सामूहिक हुनुपर्ने बताए । पार्टीमा फरक मत राख्नेहरूको पनि सुनुवाइ हुनुपर्ने उनको भनाई छ ।

सबै विषयमा सर्वसम्मत गर्ने प्रयास गर्नुपर्ने र सर्वसम्मत हुन नसकेका विषयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने उनले बताए । साथै ठूला निर्णयहरू गर्नुभन्दा पहिला सबैसँग सरसल्लाह गर्नुपर्ने उनको भनाई छ । एकलौटी ढंगले निर्णयहरु गर्दा पार्टीमा मतभिन्नता हुने र यसले पार्टीमा समस्या ल्याउने उनले बताए ।

महामन्त्री राणाले नवराज सुवेदीले पार्टीबाट राजीनामा नदिएको पनि बताए । कुनै एक परिप्रेक्ष्यमा पार्टी छाडे भन्नुपर्ने स्थिति आएपछि सुवेदीले पार्टी छाडे भनेपनि राजीनामा नदिएको महामन्त्री राणाको भनाई छ । डा प्रकाशचन्द्र लोहनीको घरमा अध्यक्ष लिङदेन र सुबेदीबिच एक प्रकारको सम्झौता भएको पनि उनले स्मरण गरे ।

एउटा वरिष्ठ नेतालार्ई पार्टीबाट, पदबाट त्यसरी हटाउनू उचित नहुने उनले बताए । महामन्त्री राणाले विद्यान विपरीतका कारबाही, निर्णयहरूलाई निर्वाचन आयोगले रोक्नेमा आफू विश्वस्त रहेको बताए । एकलौटी रूपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने आफूहरूको धारणा रहेको उनले उल्लेख गरे ।

स्रोत : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार