राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताएका छन् । उनले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए ।
उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उनको भनाइ छ ।
उनले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताए । नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गरे ।
राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उनको आरोप छ । नेपालीहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरु उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गरे ।
उनले भने, ‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्णरुपमा निराश भइसकेका छन् ।’ नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको उनले बताए ।
महामन्त्री राणाले भने, ‘असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौँ । अगुवाई गरिरहेका छौँ । नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ ।’ उनले संघीयता र गणतन्त्र असफल भएको बताएका छन् ।
