२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

ठगी धन्दामा संलग्न ठेकेदार बने बागमतीको मुख्यमन्त्री

सुदूरपश्चिमका अछाम र बाजुराका मुख्य सडक निर्माण अलपत्र छन् । स्थानीय सरकार तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदासमेत ठेकेदारहरूको लापरवाहीका कारण सडक निर्माण अधुरो रहँदा स्थानीयवासी हैरान छन् । बाजुराको कोल्टी–मार्तडी र अछामको जयगढ–रामारोशन सडकखण्ड ठेकेदार इन्द्र बानियाँसँग सम्बन्धित कम्पनीले निर्माण गरिरहेको छ ।

तर, वर्षौंदेखि ठेक्का लिई पनि बानियाँले काम सम्पन्न गरेका छैनन् । विडम्बना तिनै बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा ६४ सांसदको बहुमत जुटाएर उनले सरकार गठन गरेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी सांसद अक्कलबहादुर रावलले प्रदेशसभामै यो विषय उठाउँदै काम नगर्ने ठेकेदारलाई पुरस्कृत गर्न नहुने बताएका थिए । उनले बानियाँको कम्पनीले काममा चरम लापरवाही गरेको पटक–पटक म्याद थपिए पनि सडक नबनेको उल्लेख गरे ।

अछामको जयगढ–रामारोशन ३८ किमी सडक तीन प्याकेजमा निर्माण भइरहेको छ । तेस्रो प्याकेजको २० किमी सडकको जिम्मा बानियाँको पीएस बानियाँ जेभीले लिएको हो । २०७४ मा सुरु भएको काम अझै अधुरो छ । १५ करोड बजेट आएकोमा साढे १३ करोड फिर्ता भएको छ । त्यस्तै बाजुराको कोल्टी–मार्तडी सडकखण्डको दोस्रो र तेस्रो प्याकेजको काममा समेत बानियाँ साझेदार छन् ।

०७५ देखि सुरु भएको सडक निर्माण अझै अधुरो छ । पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेको र झुठा बहानामा म्याद थप्न खोजेको छ । अधिकांश खण्डमा आधामात्रै काम भएको बताइएको छ । सडक अलपत्र बनाउने बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको दौडमा रहँदा नागरिकस्तरमा आलोचना चुलिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार