दलको नेताबाट पदच्युत भए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिँदा उनी संवैधानिक रूपमा हटाउन कठिन बनेको छ । बुधबार कांग्रेस प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ नयाँ नेता चयन भएका छन् ।
३७ सांसदमध्ये २२ ले बानियाँलाई समर्थन गरे भने लामाले १४ मत पाए । एक मत बदर भयो । तर, लामाले राजीनामा दिने वा नदिनेमा निश्चित भएको छैन । उनले संविधानमा मुख्यमन्त्री बन्न दलको नेता हुनुपर्ने बाध्यता नभएको भन्दै एमालेसँग छलफल जारी रहेको बताए ।
संविधानको धारा १६८(२) अनुसार स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धनको समर्थन प्राप्त सदस्यलाई मुख्यमन्त्री बनाउन सकिने व्यवस्था छ । त्यसैले दलको नेता गुमे पनि लामालाई अविश्वासको प्रस्ताव दर्ता नगरी हटाउन सकिँदैन ।
अविश्वासको प्रस्ताव भने नियुक्ति भएको दुई वर्षसम्म राख्न नमिल्ने भएकाले त्यो विकल्प अहिले छैन । तर, एमालेले सरकारबाट बाहिरिने निर्णय गरेमा लामा ३० दिनभित्र विश्वासको मत लिन बाध्य हुनेछन् ।
बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा लामालाई काठमाडौं बोलाउने निर्णय भएको थियो । सोही निर्णय अनुसार लामा काठमाडौं आएका छन् । देउवासँग भेटेका लामाले आफ्नो अपमान गरेमा राजीनामा नदिने बताएका छन् ।
सत्यपाटी