राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै पछिल्ला गतिविधिमा गल्ती भएकोले सच्याउन आग्रह गरेका छन् । महामन्त्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा विधान मिचेर स्वेच्छाचारी ढंगले अध्यक्ष अघि बढेको उल्लेख छ ।
उनले तत्काल गल्ती सच्याउँदै केन्द्रिय कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका छन् । पत्रमा लेखेका छन्, ‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुस्खद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।’
नेताहरुलाई कारबाहीको निर्णय गर्दा विधानविपरीत गरिएको र स्पष्टीकरणको मौकासमेत नदिइएको महामन्त्री राणाले लेखेका छन् । अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए ।
साथै जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरे पनि अध्यक्ष लिङ्देनले हालै आफूखुसी पर्यवेक्षक तोकेको उनको आरोप छ । साथै उनले अध्यक्ष लिङ्देनका स्वकीय सचिवले पार्टीकै नेतामाथि कुटपिट गरेको विषय निन्दनीय भनेका छन् ।
‘पार्टीको तर्फबाट प्रदेससभा उम्मेदवार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुस्खद र निन्दनीय छ । पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन्,’ महामन्त्री राणाले भनेका छन् ।
महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई लेखेको पत्र यस्तो छ,
२०८२ साउन १८ गते
श्री अध्यक्ष ज्यू,
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम समयमै महाधिवेशन सम्पन्न गर्ने परिवेशमा स्थानीय तहमा अधिवेशनको क्रम जारी छ । केन्द्रीय महाधिवेशन समयमै पूरा गर्ने हामी सबैको जिम्मेवारी छ । यही सन्दर्भमा जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको विदितै छ ।
यही क्रमबीच पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दुःखद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ । फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक हुन् ।
सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास हो । पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुःखद र निन्दनीय छ । पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन् ।
जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरू तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो ।
अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ । प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटिपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो ।
निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन् । यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउनसमेत अनुरोध गर्दछौं ।
– मा.डा.धवलशम्सेर राणा
महामन्त्री

सत्यपाटी