नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कुनै हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षले पार्टी विभाजन नहुने जिकिर गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौँ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौँ, पार्टी पनि फुट्दैन ।’
उनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने बताए । पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर गरे । अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने जिकिर गरे ।
अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने जिकिर नेता पुनको छ । बरु माओवादी विचार मिल्ने अन्य दलहरूसँग एकता गर्ने पक्षमा रहेको पुनले बताए। अहिले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता वार्ता भइरहेको उनले बताए ।
‘एकताका लागि हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौँ । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ,’ उपमहासचिव पुनले भने, ‘असमझदारीलाई छलफलबाट टुंग्याउँछौं ।’
सत्यपाटी