२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

आहा ! मनै रमाउने ढोरपाटन आरक्ष (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । बाग्लुङ । २०८२ साउन १७ गते शनिबार

ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो । ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर छ ।

ढोरपाटन शिकार आरक्ष २०४० मा स्थापित भएको हो । २०४४ मा मात्र सरकारी मान्यता प्राप्त गर्यो । यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ । यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटरदेखि ५,५०० मिटर उचाईमा अवस्थित छ । यो ठाऊँ बाग्लुङगको पश्चिम दिशामा पर्छ ।

बाग्लुङगको बुर्तिवाङ बजारबाट पैदल एक दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ । हाल ढोरपाटन उपत्यकासम्म यातायात पुगेको छ । बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ । सामान्यतया बुर्तिवाङबाट तीन घण्टामा ढोरपाटन उपत्यका पुगिन्छ । हाल जीप तथा साना प्रकारका बसहरू सो रूटमा चल्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार