२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाँकेमा चार लाख क्युफिट काठ उत्पादन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १६ गते शुक्रबार

बाँकेमा काठ उत्पादनमा वृद्धि भएको छ । बाँकेमा आव २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ काठ उत्पादनमा वृद्धि भएको छ । जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको हो ।

अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेको तथ्यांक छ । यद्यपी समग्रमा काठ उत्पादनमा वृद्धि भए पनि सम्वद्र्धन प्रणाली लागू भएका सामुदायिक वनबाट हुने उत्पादनमा भने आव २०८०–०८१ मा भन्दा आव २०८१–०८२ मा कमी आएको छ ।

डिभिजन वन कार्यालयका ८७ सामुदायिक वन, एउटा राष्ट्रिय वन (चक्ला वन) र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । काठ दाउरा बिक्रीबाट गत आवमा ११ करोड ९५ लाख ४१ हजार ५६८ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने ११ करोड ४७ लाख ६८ हजार ४८८ रुपैयाँ विभिन्न सामुदायिक वनहरुले आम्दानी गरेका छन् ।

२४ वटा सम्वद्र्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ३२ हजार ८०० दशमलव १३ क्यु फिट, ६३ वटा संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ७४ हजार ४१७ दशमलव ८४ क्यु फिट र एउटा संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन)बाट ८७ हजार ६५३ दशमलव ६५ क्यु फिट काठ उत्पादन भएको छ ।

यसैगरी, जिल्लाभर विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आवमा एक लाख १० हजार २२६ दशमलव ४४ क्यु फिट गरी जम्मा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।

विगत तीन वर्षमा जिल्लामा लगातार काठ दाउरा उत्पादनमा वृद्धि हुँदै आएको तथ्याङ्क छ । बाँकेमा सम्वद्र्धन प्रणाली लागू नभएका सामुदायिक वन, सम्वद्र्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन) र निजी तथा आवादी वन क्षेत्रबाट भने उत्पादनमा वृद्धि भएको वरिष्ठ वन अधिकृत पोख्रलले जानकारी दिए ।

यसैगरी विभिन्न सामुदायिक वन (संवर्धन प्रणाली लागू भएका र नभएका)बाट विभिन्न जातका ८६५ दशमलव ६५ चट्टा, राष्ट्रिय वनबाट २९९ दशमलव ७१ चट्टा र निजी आवादी वनबाट १४५२ दशमलव ९६ चट्टा गरी जम्मा दुई हजार ६१७ दशमलव ९६ चट्टा दाउरा उत्पादन भएको वरिष्ठ वन अधिकृत पोख्रलले जानकारी दिए ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मालगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक (सागुन), सिसौ, सिमल, खयर लगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वरिष्ठ वन अधिकृत पोख्रलले जानकारी दिए ।

आव २०७९–०८० मा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो । आघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको थियो भने गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको हो ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार