२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

केराखेतीबाट १५ लाख आम्दानी

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ साउन १६ गते शुक्रबार

कैलालीको टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले केराखेतीबाट एक बिघामा १५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । उनले तीन बिघा सात कठ्ठामा गरिएको खेतीबाट गत वर्ष ४७ लाख रुपैयाँको केरा बिक्री गरेका थिए । हाल उनले १९ बिघामा केरा, तीन बिघामा उखु र अन्य जमिनमा धान तथा टिस्यु कल्चरको बेर्ना उत्पादन गरिरहेका छन् ।

धामी १४ वर्षदेखि केराखेती गर्दै आएका छन् र उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ, उपकरण र बेर्ना वितरणमा सहयोग गरेको छ । स्वदेशमै भविष्य खोजिरहेका धामीका अनुसार मल र बजार अभाव कहिलेकाहीं समस्या हुने गर्छ । केरासँगै उनले तोरी र सुर्खानीजस्ता बहुबाली खेती पनि गरिरहेका छन् ।

नियमित १२ कामदार राखेका धामीले सिजनमा थप मजदुर पनि राख्ने गर्छन् । बाली बिमामा कठिनाइ भएकाले हाल ५० लाखको मात्रै बिमा गर्न पाएको उनले गुनासो गरे । बिचौलियाको कारण किसानले उचित मूल्य नपाएको र उपभोक्ता महँगोमा किन्नुपर्ने अवस्था रहेको छ । उत्पादन स्थलमा ४०–४५ रुपैयाँ पर्ने केरा बजारमा ८० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

यस वर्ष भने ल्यावमा बेर्ना उत्पादन नहुँदा किसानले समयमै बेर्ना पाएनन् । आयोजनाले बेर्ना, सिँचाइ प्रविधि र पोषक तत्वमा अनुदान दिँदै केराखेतीमा ६८७ किसानलाई सहयोग गरेको छ । दोस्रो चरणमा २५० हेक्टर जमिनमा, त्यसमा पनि १०० हेक्टरमा थोपा सिँचाइ जडान गरिएको छ । आयोजनाले युवालाई कृषिमा जोड्न र बजार विस्तारमा सहजीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार